२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

मेयर साहद्वारा सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् । मेयर साहले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन् । महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय सहकारीमा चरम अनियमिताको खबर सार्वजनिक भइरहेका बेला महानगरले सो सूचना जारी गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ । मेयर साहले सामाजिक सञ्जालमा बस्तु र सेवाहरूको मूल्यवृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : ०४ बजे