सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दोस्रो कार्यकालका लागि पहिलो पटक अध्यक्ष बनेका व्यक्ति हुन् राजकुमार महतो । महतोसँग पालिकाको विकासका धेरै योजना भएपनि कार्यसमितिमा बहुमत नहुँदा कार्यान्वयनमा समस्या भएको बताउँछन् ।
जसको कारणले जनताको चाहना अनुसार विकासले गति लिन नसकेको अध्यक्ष महतो दुखेसो पोख्छन् । उनी अगाडि भन्छन्, ‘हामी अहिले समस्या र चुनौतिको चाङमा छौं, त्यो हिसाबले राम्रो सोच, राम्रो कामलाई पनि अड्काउने कामहरु हुन नदिने, जितेकै व्यक्तिहरुले पनि कतिपय कामहरुमा अड्काउने, बाधा अड्चन पु¥याउने र हारेका व्यक्तिहरु पनि काम गर्न नदिने, किन काम गर्न दिने भन्ने खालका अड्चन अबरोधहरु गरिरहेका छन् ।’
महतो चन्द्रनगरको नेतृत्वमा आएपछि किसानहरुका लागि निःशूल्क कृषि मिटर वितरण, सुकुम्वासीका लागि जग्गा वितरण, बालविवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँचका लागि सफलतापूर्वक अभियान अगाडि बढाइरहे पनि विद्यालय सुधारका लागि विद्यालयमा ‘ई’ हाजिरको व्यवस्थामा चुकेको बताउँछन् ।
कतिपय विद्यालयका प्रधानाध्यापकले पालिकालाई नटेरेका कारण ‘ई’ हाजिर व्यवहारमा आउन सकेको छैन । उता स्वास्थ्य संस्थामा भने पहिलाको तुलनामा धेरै सुधार भएको देखिन्छ ।
अध्यक्ष महतो भन्छन्, ‘यो कार्यकालमा हामीले गाउँपालिकालाई आवश्यक पर्ने सम्पूर्ण कानुन, कार्यविधि, ऐन र निर्देशिका धेरैजसो बनाएका छौं । दोस्रो हामीले यो गाउँपालिकाको पहिलो पञ्चवर्षीय आवधिक योजना बनायौं । त्यसमार्फत् विकास, सेवाप्रवाह र समृद्धिको कामलाई अगाडि बढाइरहेका छौं । त्योसँगै हामीले शिक्षा, स्वास्थ्य र कृषि यी तीन क्षेत्रको अगलअगल गरी सेक्टर प्लान बनाएका छौं ।’

