२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउने विषय सरकारको प्राथमिकतामा : सञ्‍चारमन्त्री



काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पुगेको बताएकी छन् । राष्ट्रियसभामा बोल्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताएकी हुन् ।

शर्माले भनिन्,‘संघीय निजामति सेवा ऐन कानुन मन्त्रालयमा पुगेको छ । हामी छिटोभन्दा छिटो संसद्मा प्रस्तुत गर्ने तयारीमा छौं । कर्मचारीको सरुवा व्यवस्थित छैन । सरुवालाई अनुमानयोग्य बनाउन जरुरी छ ।’

‘संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउने कुरालाई हामीले उच्च प्राथमिकतामा राखेका छौं । संविधान कार्यान्वयन गर्नु सबैको दायित्व हो । कयौं कानुन नबन्दा हामीले समस्या भोगेको कुरा यथार्थ हो,’मन्त्री शर्माले भनिन्।

फरक प्रसंगमा मन्त्री शर्माले सार्वजनिक खरिद ऐनका कारणले गर्दा पनि ठेक्का,बोलपत्र आह्वानलगायतमा समस्या देखिएको यथार्थ रहेको भन्दै यो विषयमा सरकार गम्भीर रहेको बताइन् । राष्ट्रिय गौरबका आयोजना समयमा सम्पन्न गर्न संसद‍बाट प्राप्त भएको निर्देशनलाई कार्यान्वयन गरिने बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ०७ बजे