१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी कामलाई तीव्रगतिमा अघि बढछ : उर्जा मन्त्री खडका



काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी कामलाई तीव्रगतिमा अघि बढाउन ठेकेदारसँग कार्यतालिका मागिएको जानकारी दिनुभएको छ।

आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले आयोजनाको टनेल निर्माण सकिएको र बाँकी काम पनि सकेसम्म चाँडो सम्पन्न गर्न प्रयास भइरहेको उल्लेख गर्नुभयो।

“गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति भयो, बीमाबाट समेत क्षतिपूर्ति पाउन ढिलाइ भयो र आर्थिक स्रोत अभाव देखियो,” मन्त्री खड्काले भन्नुभयो, “नयाँ ठेक्का प्रक्रियाले समय लाग्ने भएकाले हालकै ठेकेदारमार्फत कामलाई अघि बढाउन कार्यतालिका मागेका हौं।”

मन्त्री खड्काले आयोजनाको प्रगति नजिकबाट अनुगमन गर्न पूर्वाधार समितिबाट उपसमिति गठन गरे यसले थप मद्दत पुग्ने धारणा राख्नुभयो।

साथै, उहाँले समितिमा छलफलका क्रममा रहेका ‘विद्युत विधेयक, २०८०’ र ‘नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक’ दुवैलाई सँगसँगै अघि बढाउन आग्रह गर्नुभयो। “एउटा अघि बढाएर अर्को रोक्नुपर्छ भन्ने होइन, दुवै विधेयकलाई टुंग्याएर अघि बढाउनुपर्छ,” मन्त्री खड्काले स्पष्ट पार्नुभयो।

लामो समयदेखि अड्किएको डेडिकेटेड र ट्रंकलाइनका विद्युत बक्यौता उठाउनका लागि समिति बनाएर अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रयोग गरेको विद्युतको बिल अनिवार्यरूपमा तिर्नुपर्ने बताउँदै उहाँले कानुनी प्रक्रियामा अघि बढाइएको उल्लेख गर्नुभयो।

त्यस्तै, वजेटमार्फत ल्याइएको टेक एन्ड पे नीतिमा आवश्यक परिमार्जन भइसकेको र यस विषयमा अनावश्यक भ्रम नपाल्न समेत मन्त्री खड्काले आग्रह गर्नुभयो।

जलस्रोत विधेयकका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले प्रधानमन्त्रीसहित मन्त्रीहरूले चासो देखाउनु स्वाभाविक भएको बताउनुभयो। राष्ट्रिय सभामा सो विधेयक चाँडै पेश हुने जानकारी दिँदै, प्रतिनिधि सभामा पठाउनुअघि पूर्वाधार समिति, मन्त्रालय र सरकारले गरेको तयारी ठूलो उपलब्धि भएको मन्त्री खड्काले बताउनुभयो।

facebook sharing button
whatsapp sharing button
messenger sharing button
sharethis sharing button

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ५४ बजे