२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

काठमाडौं महानगरबाट अहिलेसम्म ५२ हजारले निशुल्क कानुनी सेवा लिए: उपप्रमुख डंगोल



काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको बताएकी छन् । कानुन दिवसको अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । 

 ‘कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिदैँ आएको छ,’ उनले भनिन्, ‘कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ भनेर हामीले निःशुल्क कानुनी सेवाको सुरुवात गरेपछि अहिलेसम्मको तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन् ।’

 

उपप्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ८३ वटा सुनुवाइ गरेको भन्दै ६ सय ८५ वटा विवाद मध्ये ३ सय २६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट विवाद समाधान गरेको जानकारी दिइन् । 

 

उनले निःशुल्क कानुनी सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिइन् । ‘हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौँ,’ उनले भनिन्, ‘लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न र सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर हामीले महिला सञ्जालको स्थापना गरेका हौँ । जसका कारण महिला हिंसाका धेरै घटनामा न्यायका लागि न्यायिक समितिसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’  

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ३८ बजे