१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

पुरेनवा अस्पतालले २० लाखलाई दिलायो नयाँ सन्सार




रौतहट । जिल्ला सदरमुकाम गौरस्थित आँखा अस्पताल पुरेनवाले २० लाख बढीलाई नयाँ संसार देखाएको छ। रौतहट सर्लाही, बारादेखि भारतसम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अप्रेसन र आँखा सम्बन्धी विभिन्न रोगको उपचार गरी २० लाख बढी मानिसलाई पुनः संसार देखाएको हो।


२०५४ पुसदेखि हालसम्म कुल १ लाख ९३ हजार ६८३ जना मोतिबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अप्रेसन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर प्रज्ज्वल बस्नेतले बताए।


सोही अवधिमा अस्पतालमा ओपीडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचारबाट पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताए।

अस्पतालमा मेडिकल डाइरेक्टर डाक्टर बस्नेतसँगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चौधरी, सुरेन्द्र मिश्र, मनोज साह लगायत ६६ जना कर्मचारी कार्यरत रहेका छन्।


आँखा अस्पतालमा दैनिक ओपीडी तर्फ ४५० बिरामी उपचारका लागि आउने गर्छन्। त्यसैगरी मोतिबिन्दु लगायत विभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अप्रेसन हुने गरेको अधिकृत न्यौपानेले बताए।

नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालित अस्पतालका संस्थापक तथा स्थापना गर्न महत्वपूर्ण योगदान दिएका आवोका जापानका डाक्टर जुन्सुके आकुरा केही दिनअघि अस्पतालको अनुगमन गरेका थिए।

#palikasamaya

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : २२ बजे