बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

नगरकोट भ्रमण वर्ष सुरु ११ लाख पर्यटक भित्र्याउने लक्ष्य



काठमाडौं । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै  मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको हो।

आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न  हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए।

 नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ’, नगर प्रमुख खत्रीले भने। घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ।

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन्।  

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभे्रपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौंको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ।

नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौं-नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ।

रासस

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ५७ बजे