चैत्र १४, २०८१ बिहिबार Thu Mar 27 2025

शङ्खरापुर नगरपालिकामा पहिले स्थापना भएर बन्द रहेको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापना हुनेछ :वनमन्त्री शाहि



काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शङ्खरापुर नगरपालिकामा पहिले स्थापना भएर बन्द रहेको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले केन्द्रको पुनःस्थापनापछि खेर गइरहेको जडीबुटीको पनि उपयोग हुने बताउनुभयो । राष्ट्रिय अनुकूलन योजनाको तयारी भइरहेको जानकारी मन्त्री शाहीले गराउनुभयो । जलवायु वित्त स्थानीय तहसम्म लगिने कार्यक्रम मन्त्रालयले बनाएको छ । वनसँग सम्बन्धित क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउन सरोकार भएका निकायसँग छलफल गरिने पनि उहाँको भनाइ छ । दिगो वन व्यवस्थापन गरी आगलागी नियन्त्रणका काम गर्न लागिएको मन्त्री शाहीले बताउनुभयो ।

राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष अग्निरेखा बनाएर काम गरेको उल्लेख गर्नुहुँदै उहाँले वनमा पानीपोखरी र आहाल बनाएर आगलागी नियन्त्रणलाई सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । तनहुँमा निर्माणको तयारी भएको खुला प्राणी उद्यानका लागि आगामी वर्षको बजेटमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका समस्या मध्यवर्ती क्षेत्र नियमावली संशोधन गरेर समाधान हुने उहाँको भनाइ छ ।

वन र कृषि मन्त्रालयले संयुक्त रूपमा बाँदर र बँदेलको आतङ्क रोक्न अध्ययन भइरहेको मन्त्री शाहीले बताउनुभयो । वनमा डढेलो लगाउनेलाई तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था भए पनि पत्ता लगाउन अप्ठ्यारो भएको उहाँको भनाइ थियो । दिगो वन व्यवस्थापनका माध्यमबाट विदेशबाट आउने काठलाई निरूत्साहित गरिने कार्यक्रम मन्त्रालयले बनाएको छ । कार्वन व्यापारका लागि सहमति भएको मन्त्री शाहीले बताउनुभयो । पछिल्लो समय वन डढेलोका घटनामा वृद्धि भएको, बस्तीमा पुगेर जनधनको क्षति भएको, वातावरणमा नकारात्मक प्रभाव परेको, वन डढेलो निभाउने क्रममा स्थानीयवासी, कर्मचारी, सुरक्षाकर्मीले जीवन गुमाउनुपरेको उहाँले सुनाउनुभयो ।

चैत, वैशाखमा धेरै वन डढेलोका घटना हुने गरेको उल्लेख गर्नुहुँदै मन्त्री शाहीले सघन वन व्यवस्थापनको काम सबै वनमा हुन नसक्दा समस्या आएको बताउनुभयो । खेतीयोग्य जमिन बाँझो, नियतवश आगो लगाउने, घाँस पलाउँछ भनेर वनमा आगो लगाउने गरिएको उहाँले सुनाउनुभयो । वन्यजन्तु धपाउन पनि आगो लगाउने गरिएको छ । हरेक वर्ष मङ्सिरदेखि जेठसम्म आगलागीका घटना हुने गरेको छ ।

बागमती प्रदेशमा बढी र सुदूरपश्चिम प्रदेशमा कम आगलागीका घटना भएको तथ्याङ्क मन्त्रालयमा रहेको छ । वन डढेलोबाट कर्णालीमा यस वर्ष एक जनाको निधन भएको छ । वन डढेलोले सरदर वार्षिक रूपमा आठ जनाको निधन हुने गरेको छ । रसुवा र नुवाकोटका बीचमा आगलागी भई नियन्त्रणमा आउन लागेको मन्त्री शाहीले जानकारी गराउनुभयो । सिन्धुपाल्चोकको भोटेकोशीमा माघ १८ गते सुरू भएको आगलागी नियन्त्रणमा आएको छ । काभ्रेको महाभारत क्षेत्रको वनमा पनि आगलागी भई नियन्त्रणमा आएको जनाइएको छ । आगलागी नियन्त्रणका लागि संसदीय समितिले दिएको निर्देशनअनुसार काम भइरहेको छ । प्रदेशको वन हेर्ने मन्त्रालयलाई आवश्यक व्यवस्थापन गर्न निर्देश गरिएको मन्त्री शाहीले सुनाउनुभयो । संरक्षण क्षेत्र हेर्ने कार्यालयलाई डढेलो लाग्न नदिन र लागेमा छिटो निभाउन निर्देशन दिएको पनि मन्त्रालयले जनाएको छ

देशभर हुने गरेका आगलागीका घटनाका बारेमा वन तथा भू–संरक्षण विभागमा रहेको अग्नि नियन्त्रण कक्षमा खबर आई तत्काल व्यववस्थापन गर्ने गरिएको छ । जिल्ला वन कार्यालयको नेतृत्वमा जिल्ला स्तरीय समिति निर्माण गरी आगलागी नियन्त्रणका लागि काम भएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : २३ बजे