काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार कण्डेलसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयका सहायक गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको पुष्टि भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
जिल्ला नवलपरासी (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, बिद्यालय सहायक (लेखापाल) सुरेश गुप्तासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२० गते।
जिल्ला नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरु सुरेश गुप्ता र सुरेन्द्र कहारलाई सेवाग्राहीबाट रु.६५,०००।–(पैसठ्ठी हजार रुपैयाँ) घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला नवलपरासी (ब.सु.प.), पाल्हीनन्दन गाउँपालिका वडा नं.५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग रु.६५,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले निजहरु रेशम राज कण्डेल, सुरेश गुप्ता र सुरेन्द्र कहारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.६५,०००।–(पैसठ्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे