२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

कांग्रेसको १५ औं महाधिवेशन समय हुन्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नेबारे छलफल भइरहेको बताएका छन्।

केही नेताहरूले २०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने बताएको सन्दर्भ उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने बताएका हुन्।

पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन। महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन।´

कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता नविकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेको छ। वडादेखि केन्द्रीय महाधिवेशनसम्म आइपुग्न करिब एक वर्ष लाग्ने भएकाले कांग्रेसले नियमित महाधिवेशन गर्न नसक्ने देखिन्छ। तर महामन्त्री थापाले जतिसक्दो छिटो महाधिवेशन गर्नेगरी पार्टीमा छलफल भइरहेको बताएका छन्।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ४ : ३९ बजे