१४ भदौ २०८३, आइतबार Sun Aug 30 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट १ करोड आन्तरिक आम्दानी गरेको छ  



काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ ।  अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । 

अन्नपूूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटलहरुले प्रतिष्पर्धा मार्फत क्रमश रु. ५६ लाख २५ हजार तीन सय ७७, रु. २८ लाख ७६ हजार पाँच सय पाँच र रु. दुई लाख ६१ हजार पाँच सय ५५ मा आर्थिक वर्षको शुरुमै ठेक्का सम्झौता भएको थियो । 

अन्नपूूर्ण –६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि रु. ४० लाख एक सयमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनले बताए । 

पुनहिल र भुरुङ्ग–तातोपानीको होटल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ प्रा.ली. र रातोपानी कुण्ड होटल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन् । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ ।

चालु आर्थिक वर्षमा रु. एक करोड ७२ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे