जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

कमसल झिल्के बत्तिको मारमा महानगरबासी



कन्चन झा

आजकल कयौं सहरहरूमा एलइडी स्ट्रिप लाइट (झिल्के बत्ति) भरमार देख्न पाइन्छ। झिल्के बत्तिले सहर झलमल्ल पार्नेहरूमध्ये हाम्रो वीरगञ्ज महानगरपालिका पनि अग्रपंक्तिमा पर्छ। वीरगञ्जमा विजुलीका पोल, सडक छेउछाउका रूखहरू र अन्य संरचनाहरूमा जडिएका यस्ता कमसल/घटिया झिल्के बत्तिहरू झट्ट हेर्दा त आकर्षक देखिएका होलान् तर यसका प्रतिकुलता भने व्यापक स्तरमा छन्।
यस्ता झिल्के बत्तिहरूमा गरिएको अन्धधुन्ध खर्च स्रोतसाधनहरूको बेहद्द बर्बादीभन्दा फरक होइन। त्यसैले यस्ता घटिया झिल्के बत्तिलाई बढावा दिनु भनेको वीरगञ्ज महानगरपालिकाद्वारा सौन्दर्यकरण र सजावटका नाममा गरिएको सरासर घोटालाकै रूप हो भनेर बुझ्दा सायद अन्यथा नहोला।
कयौं अध्ययनहरूबाट प्रष्ट भइसकेको छ कि यस्ता घटिया झिल्के बत्तिहरू, जुन वीरगञ्ज महानगरपालिकाले यत्रतत्र जडान गरेको छ, यसको रङ, तापमान उच्च छ र अन्य स्रोतहरूको तुलनामा यसले अत्यधिक निलो प्रकाश उत्सर्जन गर्दछ। लामो समय निलो प्रकाशको सम्पर्कमा रहँदा आँखामा एक किसिमको खराबी हुन सक्छ। जसलाई “blue light pollution” भनिन्छ।
झिल्के बत्तिहरू सडकमा सवारीसाधन कुदाउनेहरूका लागि पनि निकै असुविधाजनक मानिन्छ। र, केही अध्ययनहरूबाट यो पनि थाहा हुन्छ कि सवारीसाधन चलाउनेहरूमा यसले रेटिनासम्बन्धी समस्या उत्पन्न गर्न सक्छ। बडो चिन्ताको कुरा हो कि हामी विरगञ्जवासीले रातिको समयमा सधैं नै यस्तो निलो प्रकाशको सामना गरिरहेका छौं। र, गम्भीर अनि नयाँ-नयाँ विमारीतर्फ नजिकिन अभिशप्त छौं।
त्यस्तै सार्केडियन रिदम (मानव शरीरको आन्तरिक घडीको लय) मा खलल पार्न समेत यस्ता झिल्के बत्तिको प्रकाश जिम्मेवार हुन्छ। रातिको समयमा कृत्रिम प्रकाशको सम्पर्कमा आउनु, खासगरी एलइडीद्वारा उत्सर्जित निलो प्रकाशले हाम्रो निंद्राको तौरतरिकामा बाधा पुर्‍याउन सक्छ। यसले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव त पार्छ नै, साथै अनेकन् विमारीको खतरा पनि उत्तिकै बढाउने सम्भावना रहन्छ।
यत्रतत्र यस्ता बत्तिहरू जथाभावी ढंगले लगाइँदा भोल्टेज उतार-चढावको समस्या पनि उस्तै छ। जसले गर्दा घरहरूमा विद्युतसँग सम्बन्धित समस्याहरू आउने र कतिपय अवस्थामा दुर्घटनासम्म निम्तिने गरेको छ। झिल्के बत्तिहरूले उर्जाको खपत ज्यादा गर्ने त छँदैछ। त्यसमाथि अकुशल तरिकाले प्रयोग गरिँदा उर्जाको खपत झनै बढ्नजाने र पर्यावरणीय जोखिम पनि निम्त्याउने हुन्छ। जस्तै: कार्बन उत्सर्जन। यसका अलावा, उच्च गर्मी हुँदा यस्ता घटिया झिल्के बत्तिमा आगलागी हुने खतरा पनि उत्तिकै रहन्छ। झिल्के बत्तिहरूको दुष्प्रभावबाट वीरगञ्ज पनि पिरोलिएकै छ। झिल्के बत्तिले भोल्टेज उतार-चढावको समस्या थप बढाउँदा सम्भवत: घरहरूमा आगलागी हुने र विद्युतिय सामग्रीहरू विग्रिने समस्या वीरगञ्जमा झनै बढेको छ।
घटिया झिल्के बत्ति अत्यधिक कृत्रिम प्रकाश र प्रकाश प्रदूषणका कारक हुन्छन्। जसले पारिस्थितिक प्रणालीमा बाधा पुर्‍याउँछ। कृत्रिम प्रकाशले वन्यजन्तु र किटपतंगहरूको व्यवहारमा बदलाव ल्याउँछ र खगोलीय निगरानीमा अवरोध गर्दछ। साथसाथै, यी झिल्के बत्तिका वरपर किटपतंगहरु आकर्षित हुने हुँदा सहरमा यिनीहरूको संख्या पनि बढ्ने गर्दछ।
यस्ता झिल्के बत्तिहरूमा भारीमात्रामा धातु र पृथ्वीका दुर्लभ तत्वसहित विभिन्न प्रकारका पदार्थ र रसायन हुन्छन्। झिल्के बत्तिहरूको म्याद सकिएपछि तिनलाई उचित तरिकाले निप्टारा नलगाउँदा अथवा पुनर्चक्रणको उपायअनुरुप उचित तरिकाले व्यवस्थापन गर्न सकिएन भने पर्यावरण प्रदूषित हुनजान्छ। त्यसैले यसको प्रयोग गर्दा पर्यावरण र स्वास्थ्य सम्बन्धी चिन्ता तथा सौन्दर्य र सजावट सम्बन्धी चिन्तनहरूलाई सन्तुलित गर्नु महत्वपूर्ण हुन्छ।
अत: हेर्दा आकर्षक देखिए पनि झिल्के बत्तिका दुर्गुणहरू प्रशस्तै छन्। वीरगञ्ज महानगरपालिकाले खासमा योजना बनाउँदा नै यसबारे सोच्न सक्नुपर्थ्यो। यद्यपि यसको नकारात्मक प्रभावहरू देखिन थालिसक्दा समेत वीरगञ्ज महानगरपालिका सचेत भएको पाइँदैन। बरू अझैं पनि झिल्के बत्ति जडानको कामलाई ठूलै उपलब्धी गरे झैं ढिंढोरा पिटिरहेको छ, महानगरपालिका।
कुनै पनि योजना लागू गर्नुभन्दा पहिले गहन अध्ययन गर्नुपर्छ भन्ने मान्यता त्यसै बनेको होइन। उपयुक्त ठानिएका कतिपय योजनाहरूले पनि नकारात्मक नतिजा निम्त्याउन सक्छन् भनेरै अध्ययन अनुसन्धान गर्नुपरेको हो। वीरगञ्जमा झिल्के बत्ति जडानको काम पनि अध्ययनको अभावमा जानाजान निम्त्याइएको असफल योजना हो। केही कमिसनखोर विचौलिया र आयातकर्ताहरूलाई यो झिल्के बत्तिको परियोजनाले लाभ पुर्‍याएको होला तर आम मानिसलाई भने धीमारूपमै सही गम्भीर हानी पुर्‍याइरहेको छ। त्यसैले महानगरपालिकाले सहरभरि जडान गरेका यस्ता झिल्के बत्तिहरू तुरुन्तै हटाउनु हरेक दृष्टिले हितकर हुन्छ।
वीरगञ्ज महानगरपालिकाले तत्कालै सडकमा जडित झिल्के बत्तिहरूका विकल्पमा वैज्ञानिकरूपमा सही ठहरिने निर्णय लिन अब ढिलाइ गर्नु हुँदैन। जडित झिल्के बत्तिहरू उज्यालोका लागि निर्विकल्प होइनन्। यसका अनेकन विकल्प छन्। त्यसतर्फ महानगरपालिकाले सोच्न भ्याओस्। विविध किसिमका उज्यालोकोरूपमा एरिया लाइट जस्तो स्मार्ट स्ट्रीट लाइटिङ, पोस्ट-टप र फल्डलाइटहरूका विषयमा महानगरपालिकाले विचार गर्न सकोस्। ‘उज्यालो वीरगञ्ज अभियान’ घटिया झिल्के बत्तिकै कारण वीरगञ्जवासीका लागि ‘अँध्यारो वीरगञ्ज’ मा दब्दील नहोस्।
(झा नेपाली कांग्रेसका युवा नेता हुन्।)

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : २५ बजे