बैशाख १७, २०८१ सोमबार Tue Apr 30 2024

भारत सरकारले संखुवासभाको दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गर्‍यो



काठमाडौं । भारतले नेपालको सङ्खुवासभा जिल्लामा एक सामुदायिक विद्यालय भवको शिलान्यास गरेको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु.४.०२९ करोड आर्थिक सहयोगमा सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा निर्माण भएको दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले उक्त विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने भएको छ ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्र्‍याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ४९ बजे