बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ घाइते



काठमाडौं।काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

बुधबार साँझ साढे सात बजे महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो।

झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन्।

धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
‘बाटोमा फुटपाथ राख्न पाइँदैन भनेर नगर प्रहरी हटाउन गएको थियो,’ उनले भने, ‘तर उहाँहरूले अटेर गर्नुभयो। सोही क्रममा झडप हुँदा नगर प्रहरीसमेत घाइते भएका छन्।’

घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ। स्वरोजगार व्यवसायी सङ्घकी माया गुरुङले नगर प्रहरीको टोलीले फुटपाथ व्यवसायीसँग धरपकड गरेको बताइन्।

‘नगर प्रहरीको ठूलो टोली आएको थियो,’ उनले भनिन्, ‘जबर्जस्ती गरेपछि प्रतिकारमा उत्रिँदा लाठिचार्ज भयो।’ घाइते फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताइन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ११ : ०२ बजे