बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने



तनहुँ। नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिए। उनले भने, “जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पारेका थिए। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै सरकारका गतिविधिलाई जनउत्तरदायी बनाउन पार्टीले केन्द्रमा भूमिका खेलिरहेको उनको भनाइ थियो ।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ३६ बजे