बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा समिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ ।

त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ ।

त्यस्तै आसन्न महाधिवेशनको लागि आर्थिक श्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक श्रोत व्यवस्थापन समिति गठन भएको छ ।

यसैगरी पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरु र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरु गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । पार्टीले मातहत समितिलाई निर्णय कार्यान्वयन गर्न गराउन आइतबार परिपत्रसमेत जारी गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : २० बजे