बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी, सतर्क रहन अनुरोध



काठमाडौँ । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढी रहेको पाइएको छ ।

इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । “सहरमा बढी भिडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ”, उहाँले भन्नुभयो, “रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।”

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्न १६ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो । मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भिडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ०८ बजे