बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

प्यूठान नगरपालिकाका वडा नं. २, ३ र ४ का स्थानीयद्वारा नदी सरसफाइ अभियानको थालनी



प्यूठान । प्यूठान नगरपालिकाका वडा नं. २, ३ र ४ का स्थानीय नागरिकले आफ्नो वडा क्षेत्र भएर बग्ने नदी सरसफाइ अभियान चलाएका छन् । खासगरी नगरपालिकाका वडा नं. २, ३ र ४ भएर बग्ने जुम्रीखोलामा अत्यधिक फोहर बढेपछि स्थानीयहरुले शनिवार बिहान स्वतस्फूर्त रुपमा नदीभित्रको फोहरजन्य सामग्री हटाई पर्यावरण सुन्दर तथा सरसफाइयुक्त बनाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सहभागी भएका हुन् ।

स्थानीयको यो कर्मले जनता जागेपछि समाजका प्रत्येक क्षेत्रमा तत्काल परिवर्तन सम्भब छ भन्ने अनुभूति पुनः एकपटक जुम्री क्षेत्रबाट अनुभूति हुन्छ । ‘प्यूठान नगरपालिका परिवार स्थानीयले गर्ने प्रत्येक सकारात्मक कर्ममा सदैव संलग्न हुने प्रतिबद्धता पुनः एकपटक दोहोर्‍याउँदै नगरक्षेत्रभित्र अन्य टोल बस्तीमा पनि यसैगरी समाज परिवर्तित गर्ने सकारात्मक उर्जा प्राप्त होस् र हामी होस्टेमा हैसें गर्ने पाउने छौं भन्ने अपेक्षा गरेका छौं’, सहभागी स्थानीयको भनाइ छ ।

प्यूठान नगरक्षेत्रभित्र जिल्लाकै प्रमुख व्यावसायिक क्षेत्रहरु, ठूला बस्तीहरु तथा झिम्रुक र जुम्रि नदीहरु रहेका छन् ।
प्यूठान नगर उपप्रमुख देवेन्द्र वर्माले पहिलो चरणको सरसफाइ कार्यक्रमको समापनमा बोल्दै नगरपालिकाले नियमित फोहोर संकलन गरिरहेको भए तापनि अझै नागरिकमा चेतनास्तर बढाउन नसक्दा अव्यवस्थित फोहोर फाल्ने क्रम रोक्न नसकिएको स्वकारोक्ति व्यक्त गरे ।

उपप्रमुख वर्माले समुदायस्तरबाट स्वतःस्फुर्त आह्वान हुने यस्ता सचेतनामुलक कार्यक्रमले सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले यस्ता जनसचेतनामुलक कामप्रति प्यूठान नगरपालिकाको सधैं साथ रहने प्रतिवद्धता व्यक्तसमेत जनाए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ५३ बजे