३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका



गण्डकी । ‘मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरू केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुभव गर्न पाएँ’, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टंकनाथ बस्ताकोटीले भने।

पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीसँगको सहकार्यमा आयोजित तीनदिने रैथाने बाली उत्पादन तथा परिकार तयारीसम्बन्धी तालिममा सहभागी भइसकेपछि आफूले तालिमबाट धेरै कुरा सिक्न पाएको उनले अनुभव सुनाए।

रोजगारीका क्रममा २० औं वर्ष विदेशमा बसेको र गाडीको पेन्टरलगायतका काम गरेको विगत सम्झँदै उनले हाम्रै वरपर रहेका रैथाने प्रजातिबाट धेरै परिकार बनाउन सकिने त्यसबाट स्वरोजगार बन्न सकिने बताए।

रोजगारीकै क्रममा बिरामी भएर फर्कनुपरेका धेरै अनुुभव सुनाउँदै उनले हाम्रो देशमा ठाउँअनुसार हुनसक्ने खेतीको विस्तार गर्दै त्यसलाई उपयोग गर्न सकेमा विदेश भौतारिनु नपर्ने बताए।

पहाडी भेगमा पाइने लप्सीबाट धेरै किसिमका परिकार बनाउन सकिने भए पनि त्यो त्यसै खेर गइरहेको जनाउँदै उनले गाउँ बस्तीका किसानलाई यसको उपयोग सम्बन्धमा तालिम दिनु आवश्यक भएको उनले बताए।

बस्ताकोटीजस्तै पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए।

पोखरा महानगरपालिका वडा नं ३२ का रामराज वाग्लेलाई फर्सीको जाम, मसला आदि हुन्छ भन्ने कल्पनासम्म पनि थिएन। तालिममा सहभागी भइसकेपछि त्यही फर्सीबाट धेरै परिकार बनाउन सकिने जानकारी पाएको उनको भनाइ छ।

तालिमकै अर्का सहभागी पोखरा महानगरपालिका वडा नं २४ पामेका किसान रामबहादुर सुवेदीले सयपत्री फूलको जाम, अचार आदि हुन्छ भन्ने सोचेका समेत थिएन । तीनदिने तालिमका क्रममा सयपत्री फूलबाट बन्ने जाम, अचार आदि देख्दा उनी दंग परेका छन्।

पर्याप्त सङ्ख्यामा उत्पादन गर्न सकिने सयपत्रीलाई प्रशोधन गरेर खाद्यवस्तु तयार गरेमात्रै पनि आयआर्जन गर्न सकिने आफूले पाएको उनले बताए।

तालिमका सहभागीलाई सयपत्री फूलको जाम, सिस्नोको आइसक्रिम, फर्सीबाट बन्ने केचप, टिम्मुरे सस, पिरो सस, कोदोको दुुनट, कुुकिज, सिस्नोको अचार, आइसक्रिम, सयपत्री फूूलको आइसक्रिम, अदुुवा र लप्सीको क्यान्डी, खट्टामीठा क्यान्डी आदि परिकार बनाउने तालिम दिइएको मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीका प्रमुख प्रशिक्षक पाक महर्षि सन्दीपकुमार केसीले जानकारी दिए।

उनका अनुसार तालिमका सहभागीलाई चक्लेटले कोट गरिएको अदुुवा, फर्सीको ससमा पास्ता, जिंगर कोटेड चक्लेट, बे्रड, कुबिन्डो ससलगायतका परिकार बनाउने तालिमसमेत दिइएको थियो। रैथाने बालीबाट धेरै परिकार बनाउन सकिए पनि हामी त्यसको बेवास्ता गर्दै विषादीयुक्त वस्तु किनेर खाइरहेको उनले बताए

विगतमा जण्डिस हुँदामात्रै खाने गरिएको फर्सीबाट बन्ने परिकारसँगै हाम्रा खेतबारीमा हुने कोदोलगायतका अन्नबाट धेरै परिकार बन्ने कुरा तालिमबाट प्रत्यक्ष जान्न र सिक्न पाइएको पोखरा महानगरपालिका वडा नं १६ स्थित केपसिटी सहकारीका सदस्य चन्द्रकुमारी देवकोटाले बताइन्।

‘कोदोबाटै चिजवल, पास्ता, चाउचाउ आदि बन्ने रहेछ, हामी त्यो थाहा पाउन नसक्दा बालबच्चालाई दिनदिनै अस्वस्थकर वस्तु खुवाइरहेका छौं’, उनले भनिन्।

उन्नत जातका नाममा रैथाने प्रजातिसमेत लोप हुँदै जान थालेको वास्तविकतामा महानगरपालिकाले रैथाने बालीको संरक्षणसँगै त्यसबाट बन्ने परिकारको प्रवर्द्धनलाई जोड दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

रैथाने बालीबाट बन्ने परिकारलाई जोड दिन सकिएमा त्यसले समुदायको स्वास्थ्य रक्षामा समेत योगदान गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ५७ बजे