जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

बोटबिरुवा स्याहार्न ग्रिन एम्बुलेन्स चलाउँदै महानगर



काठमाडौं ।काठमाडौं महानगरपालिकाले ‘ग्रिन एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । महानगरको हरियाली अभियानमा सहयोगका लागि यस्तो गाडी आवश्यक भएको महानगरले जनाएको छ । बोटबिरुवा रोप्नुपर्ने अवस्थामा, मलजल राख्नुपर्ने भएमा, बोटबिरुवाको तुरुन्त काँटछाँट गर्नुपर्ने भए उक्त एम्बुलेन्स प्रयोग हुनेछ ।

महानगरलाई हरियाली बनाउन र बोटबिरुवाको संरक्षणका लागि अतिआवश्यक भएकाले यस्तो गाडी सञ्चालनमा ल्याउन लागेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘ग्रिन एम्बुलेन्सको अतिआवश्यक भएर नै सञ्चालन गर्न लागेका हौँ । यसका लागि कार्यविधि तयार हुँदै छ । कार्यविधि आएलगतै सञ्चानलमा आउनेछ ।’ 

महानगरको कार्यपालिका बैठकले समेत ग्रिन एम्बुलेन्स तथा सञ्चालन कार्यविधि ०८० तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘हामीलाई ग्रिन एम्बुलेन्स सञ्चालनका लागि कुनै समस्या छैन । महानगरभित्र भएका पुराना गाडीलाई रङरोगन गरेर सञ्चालनमा ल्याउने हो,’ उनले भने । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : १७ बजे