बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

मलिका महतद्वारा अभिनित चलचित्र ‘सतीदेवी’ सेन्सर बोर्डबाट पास



काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘‘सतीदेवी’लाई युनिभर्सल प्रमाणपत्र उपलब्ध गराएको छ । उक्त चलचित्रको निर्देशक लक्ष्मण सुवेदी रहेका छन् । फिल्म हेरिसकेपछि बोर्डका सदस्यले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुवेदीले बताए ।

फिल्मले मंसिर ७ गते टिजर पोस्टर सार्वजनिक गर्दै त्यसको मनोविज्ञान र कथावस्तुबारे प्रकाश पारेको थियो। उक्त पोस्टरले सामाजिक, राजनीतिक आन्दोलनको औचित्यलाई औल्याउँछ । ग्रामीण सेटिङमा खिचिएको फिल्मको यो पोस्टरले गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रको दुदर्शाको कथा पेश गर्छ ।

सुवेदीले सतीदेवी चरित्रमार्फत आफूले भोगेको र देखेको जीवनको कथालाई फिल्ममा उतारेका छन् । नारीप्रधान फिल्ममा मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो ।

छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा हो। फिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको छ । फिल्मको निर्माता श्रीदेवी सुवेदी रहेकी छन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २९ बजे