बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

चित्रकलामार्फत हिंसाविरुद्ध सचेतना



काठमाडौँ । लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौँमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना चित्र सिर्जना बुझाउन कलाकारलाई आह्वान गरिएको हो । चित्रहरु लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने हुनुपर्ने नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काले बताए ।

उनले यही मङ्सिर २२ सम्म चित्रसिर्जना बुझाइसक्न सार्वजनिक आह्वान गरिएको र यही २४ गते प्रदर्शनी गरिने जानकारी दिए । हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने हुँदा यसपाली कलाका माध्यामबाट सचेतना दिन खोजेको नगरपालिकाले जनाएको छ ।

यसका लागि कलाकार दीपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले संयोजन गरिरहेका छन् । कलाकार बनेपालीले प्रदर्शनीका लागि कलाकारबाट चित्र प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । लैङ्गिक हिंसाका घटना प्रायः आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्कले ८९ प्रतिशत घटना चिनाजानका मानिसबाट भएको छ भने ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : ३९ बजे