जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

क्रूर शिक्षक : ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर निर्घात कुटपिट



नवलपरासी पश्चिम् । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीया छात्रालाई निर्घात कुटपिट गरेका छन्।

सरावल– ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्।कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन्।बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले जानकारी दिए।घटना पछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए।

शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताए।स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताए। पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताए। यादवको कुटाइबाट ती बालिका हिँड्न नसक्ने अवस्थामा छिन्।छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन्।

स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताए।सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरुले दोषी माथि कारवाहीको माग गरेका छन्।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : १० बजे