जेष्ठ ३, २०८१ बिहिबार Thu May 16 2024

दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी



चितवन । दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् ।

पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र संख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए । उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।

चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ । बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताए । ‘यहाँ जाडो छल्न चरा आउँछन्’, उनले भने, ‘खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो ।’चरा संरक्षणका लागि वडा नं २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताए ।

‘संसारमै नभएका चरा यहाँ छन्’, उनले भने, ‘यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ ।’ उनले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्वपूर्ण भएको उनको भनाइ छ ।चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताए ।

उनले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताए । साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बत जस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उनले बताए । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा यहाँ छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : २१ बजे