बैशाख २९, २०८१ शनिबार Sat May 11 2024

वीरका कार्यकारी निर्देशक डा. पौडेललाई कारबाही गर्न निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलमाथि आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । डा. पौडेल राजनीतिक दलको सदस्य र दलसम्बन्धी जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेपछि आयोगले कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगका उपन्यायाधिवक्ता टेकराज भुसालले डा. पौडेलमाथि परेको उजुरीबारे निर्णय लिन मन्त्रालयलाई पत्राचार गरेको हो तर मन्त्रालयलाई पत्राचार गर्दा छानबिनका क्रममा आयोगले फेला पारेको तथ्य तथा अनुसन्धानको निस्कर्षबारे केही खुलाइएको छैन ।राजनीतिक दलसम्बन्धी ऐनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेका व्यक्ति दलको सदस्य हुन नहुने व्यवस्था छ । त्यसै गरी नेपाल स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीले नेपाल सरकारको पूर्वस्वीकृति लिई प्रचलित कानुनबमोजिम दर्ता भएको पेसागत संस्थाबाहेक अन्य कुनै पनि प्रकारको संस्थाको सदस्य बन्न नहुने व्यवस्था छ ।कार्यकारी निर्देशक डा. पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो । नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो ।डा. पौडेलबारे आयोगले छानबिनका क्रममा उहाँ सम्बद्ध दाबी गरिएको दल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्कर्मी महासङ्घसँग जवाफ माग गर्दा महासङ्घले जवाफ पठाएको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ३२ बजे