सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आमजनसमुदाय, जनप्रतिनिधि र सरोकारवालालाई सल्लाह, सुझाव दिन आग्रह गरेको छ । गाउँपालिकाले जनप्रतिनिधिहरु र सरोकारवालाहरुलाई कुनै पनि बहानामा गाउँसभा रोक्न नपाइने भन्दै उपयुक्त रायसुझावको लागि अनुरोध गरेको हो । गाउँपालिकाले कुनै विषयमा असहमति जनाउँदा राम्रोसँग अध्ययन गरेर मात्रै गर्न र रचनात्मक राय, सुझाव दिई गाउँसभा तत्काल सम्पन्न गर्न सार्वजनिक रुपमै आग्रह गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८० र ८१ प्रस्तावित श्रोत अनुमान, बजेट वितरणको खाका तथा सिमा निर्धारण र गाउँ गौरवको योजना, पालिका स्तरीय तथा वडा स्तरीय योजना एवं कार्यक्रम तर्जुमा गर्न बाँकी रहेको बजेट वितरणको प्रस्तावित खाका प्रस्तुत गरेको छ । प्रस्तावित बजेट वितरण खाका अन्तिम नभइ नमुना मात्रै भएको पनि गाउँपालिकाले जनाएको छ ।
प्रस्तावित योजना भन्दा उत्तम, ठोस र दीगो विकासका कुनै रचनात्मक अवधारणा जनप्रतिनिधि, सर्वसाधारण तथा सरोकारवालाबाट आएमा त्यस्तो योजना, सुझाव सल्लाह र खाकाको सम्बोधन गरिने पनि गाउँपालिकाले जारी सूचनामा जनाएको छ ।
यो प्रस्तावित योजना तथा बजेट वितरणको खाका गाउँपालिकाको सात वटै वडाको टोल बस्तीमा घर दैलो गरी जनसमुदायको समस्या, गुनासो र आवश्यकताको प्रत्यक्ष अवलोकन तथा अन्तरक्रिया गरेर तथा दिगो विकासको आवधारणा अनुसार गाउँपालिका अध्यक्षले तयार पारेको बताइएको छ । प्रस्तावित योजना सार्वजनिक गर्दा पारदर्शि रुपमा सम्पूर्ण वडावासीको राय, सुझाव लिनको लागि तयार पारिएको र त्यसलाई अझ बढी परिणाममुखि र उपल्बधीमुलक बनाउनको लागि सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले उल्लेख गरेको छ ।