श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

उज्यालो पर्व तिहारमा ४५ करोड बराबरको झिलिमिली बत्ती विदेशबाट आयात



काठमाडौँ । यो वर्षको तिहारमा साढे ४५ करोड रुपियाँ बराबरको वद्युतीय झिलिमिली बत्ती आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा सो रकम बराबरको झिलिमिली बत्ती विदेशबाट आयात भएको हो ।

नेपाल विद्युतीय सामग्री व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कूल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाइएको छ ।महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् ।महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् ।त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १२ : २९ बजे