श्रावण ५, २०८१ शनिबार Sun Jul 21 2024

पटकाबाट पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति



काठमाडौं । सरकारले पटकालगायत विस्फोटक पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको भनिरहँदा लक्ष्मी पूजाको दिन स्थानीयले पटका पट्काउँदा छिमेकीको पसलमा आगलागी भएको छ ।

गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिएका छन् ।आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : ४७ बजे