श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

बौदीकाली गाउँपालिकाद्वारा बाहिरबाट सयपत्री फूल ल्याउन नपाइने उर्दी



काठमाडौं । पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकाले यस पटकको तिहारमा बाहिरबाट सयपत्री फूल ल्याउन नपाइने जनाएको छ । गाउँपालिकाले आउँदो तिहारमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूल प्रगयोग गरी गाउँको आयआर्जन वृद्धि गर्न यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवलबहादुर बस्नेतले एक सूचना प्रकाशित गर्दै गाउँपालिकाभन्दा बाहिरबाट फूल नल्याउन आग्रह गरेका छन् । उनले गाउँकै किसानले उत्पादन गरेको सयपत्री फूलमात्र प्रयोग गरी किसानको मनोबल बढाउने यस्तो आग्रह गरेका हुन् । गाउँका ८ जना किसानले यो पटक उत्पादन गरेका सयपत्रीको फूल प्रयोग गर्नुपर्ने भन्दै एक सूचना जारी गरेर फूल उत्पादनक किसानको नाम र मोबाइल नम्बरसमेत दिएका छन् ।

गाउँकै खिमचन्द्र भण्डारी, रवीन्द्रराज कँडेल, भानुभक्त ओझा, संगीता पौडेल, खहरे कृषक समूह, डण्डपानी कोइराला, टिकामाया सार्की र नेहा सारुमगर लगायतले आआफनो खेतबारीमा उत्पादन गरेको सयपत्री फूल प्रयोग गर्न अनुरोध गरेका थिए ।

बस्नेतले गाउँपालिका भित्रका सर्वसाधारण, सरकारी, गैरसरकारी संघसंस्थाले गाउँपालिका भित्रकै किसानले उत्पादन गरेको सयपत्री फूल प्रयोग गरेर स्थानीय उत्पादनलाई टेवा दिन पनि आग्रह गरेका छन् । गाउँपालिकाभित्र कसैले पनि नस्ट नहुने र नकुहिने (प्लास्टिकका फूल) ल्याउन र प्रयोग गर्न नपाइने जारी सूचनामा बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : १३ बजे