मंसिर २९, २०८१ शनिबार Sat Dec 14 2024

भूकम्पमा २६ हजार घर पूर्णरुपमा भत्किए



काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै २६ हजार घर पूर्ण रुपमा भत्किएका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २६ हजार ५२० घर पूर्ण रुपमा र ३५ हजार ३९१ घर आंशिक रुपमा भत्किएका हुन् ।

अहिले लगातारको परकम्पका कारण स्थानीयहरु अहिले पनि आफ्नो घरमा बस्न डराइरहेका छन् ।

सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रुपमा भत्किएका छन् भने ९ हजार ९६१ घर आंशिक रुपमा भत्किएका छन् । त्यस्तै जाजरकोटमा ९ हजार ७९४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घर आंशिक रुपमा भत्किएका छन् ।

त्यस्तै सल्यानमा १२९ घर पूर्ण र ४१८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा १०१ जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । त्यस्तै १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मन्त्रालयले अहिले पनि विवरण संकलनको क्रम जारी रहेको र राहत तथा उद्धारको काम पनि जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ३४ बजे