कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

कांग्रेस महासमिति बैठक मंसिर २९ देखि पुस २ सम्म



काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक दुई साता पछि सरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको हो ।

चाडपर्व र जाजरकोटमा गएको भूकम्पका कारण तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको कांग्रेसले जनाएको छ । कांग्रेस महासमिति बैठक गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । यसअघि कांग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो ।

कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रीय सदस्य जिपछिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रभावितहरुमाथि अन्याय नहोस् भन्न कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा विपद् व्यवस्थापन सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : २८ बजे