कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

भूकम्पपीडितलाई पौवादुङमा गाउँपालिकाले दुई लाख सहयोग गर्ने



काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।“दुई जिल्लाका भूकम्पपीडितलाई रु एक–एक लाख सहयोग गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने , “यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उनले बताए ।“यो एउटा दुःखद् अवस्था हो”, अध्यक्ष राईले भने , “यसको सबै मिलेर सामना गर्न आवश्यक छ । हामीले पनि केही राहत पुगोस् भन्नका लागि रु दुई लाख सहयोग गरेका छौँ ।” शुक्रबार राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : १४ बजे