१४ भदौ २०८३, आइतबार Sun Aug 30 2026

सिन्धुपाल्चोकका ३ स्थानीय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग गर्ने निर्णय



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन ।गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिए । सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०६ बजे