बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक निर्देशन दिएको छ ।

अख्तियारले विभिन्न विकास निर्माण र भौतिक पूर्वाधारको जिम्मेवारी पाएका मन्त्रालय र सेवा प्रवाहको जिम्मेवारीमा रहेका मन्त्रालयलका सचिव तथा महानिर्देशकहरूलाई दुई भागमा विभाजन गरी सोमबार र मंगलबार दुई दिनसम्म अख्तियारमा नै बोलाएर विशेष निर्देशन दिएको हो ।अख्तियारले गत वर्ष पनि सरकारका सचिव तथा महानिर्देशकहरूलाई बोलाएर विकास निर्माण, सार्वजनिक खरिदमा पारदशर्शीता तथा सुशासन कायम गर्ने विषयमा महत्वपूर्ण सुझाव दिएको थियो ।तर, सचिवहरूले अख्तियारले दिएको सुझाको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै अख्तियार सचिवहरूसँग रुष्ट बनेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले सरकारका सचिव तथा महानिर्देशकलाई अख्तियारमा नै बोलाएर छलफल गर्दै विगतका दिइएको सुझावको कार्यान्वयन गर्न विशेष निर्देशन दिइएको जानकारी दिए ।स्रोतका अनुसार सरकारका अधिकांश सचिव तथा महानिर्देशकहरू स्वार्थप्रेरित काममा मात्रै लाग्ने गरेको, मन्त्रीको एसम्यान बन्ने गरेको, कानुनले गर्न नमिल्ने काम पनि आफ्नो स्वार्थका लागि गर्ने गरेको, बिचौलिया र माफियाको निर्देशनअनुसार चल्ने गरेको भन्दै उनीहरूको कामका कारण मुलुकमा कुशासन र बेथिति बढेको गुनासो अख्तियारसमक्ष पुगेको थियो ।लगातार यस्ता गुनासाहरू आएपछि अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सचेत पार्दै आगामी दिनमा सुशासन कायम गर्ने गरी काम गर्न विशेष निर्देशन दिएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ३३ बजे