जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

उपप्रधानमन्त्रीले पीडितलाई सुनाए मुद्दाको प्रगति



कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधबारको दृश्य अलि फरक थियो । प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका–१४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका–५ सिङ्गासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीलाई फोन गरी मुद्दाको प्रगतिबारे सुनाए ।

“मातिरामी जी १ म पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री बोल्दैछु । तपाईँले दायर गरेको निवेदनअनुसार प्रतिवादी पक्राउ गरिएको छ । प्रमाण सङ्कलन एवं अनुसन्धानसँगै क्षतिपूर्तिका लागि प्रयास भइरहेको छ”, फोन संवादमा रक्षामन्त्री खड्काले भन्नुभयो, “सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत पीडित सहायता शुभारम्भ गर्ने क्रममा तपाईँसँग कुरा गरिएको हो । आजदेखि तपाईँले दिएको उजुरी प्रहरी स्वयंले हेर्दै जाने र तपाईँको आवश्यकता भएमा प्रहरीले जानकारी दिनेछ । ”रक्षामन्त्री खड्काले पीडित महिलासँग पनि फोनमार्फत संवाद गर्दै भन्नुभयो, “तपाईँले दिनुभएको बहुविवाहसम्बन्धी मुद्दाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई बयान लिइसकिएको छ । प्रहरीले उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन पनि गरिरहेको छ ।” उहाँले तपाईँ जस्ता पीडितले आउनुपर्ने भएमा मात्रै प्रहरीले जानकारी गर्ने र हिजोका दिनमा सधैँ आएर कामको प्रगतिका बारेमा जानकारी लिनुपरेकामा आजदेखि त्यो अवस्थाको अन्त्य भएको जानकारी गराए ।रक्षामन्त्री खड्काकाले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालयमा आउन नपर्ने र अबदेखि प्रहरी आफैले फोन गरेर मुद्दाको काम कारबाही र प्रगतिबारे जानकारी दिने व्यवस्था गरेकाले गरेको बताए । केन्द्र सरकारको सहयोगमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत ट्राफिक नियम पालन, पीडित सहायता कार्यक्रम पनि बुधबारदेखि आरम्भ गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ५३ बजे