बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो। समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ।क्लबका अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा गएको आठ जनाको टोलीले सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र ’ स्थापना गरेका हुन्। अध्यक्ष बुढासहित उपाध्यक्ष, मेकिन पुन, सचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्वुजालगायतको टोलीले चिमखोला गाउँदेखि करिब सात घण्टाको पैदलयात्रा गरी सोवाङ धुरीमा पुगेका थिए।चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै सोवाङधुरी पुगेर त्यहाँको पर्यटन सम्भावनको खोजी र प्रवद्र्धन गरिएको क्लब अध्यक्ष बुढाले बताए। “अथाह सम्भावना भएर पनि ओझेलमा परेको सोवाङधुरीलाई प्रवद्र्धन गर्न पहल गरेका हौँ, यो क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्नसकेमा उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ”, अध्यक्ष बुढाले भने।धौलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ।सोवाङ धुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको क्लबका सदस्य वकिल पुन मगरले बताए।म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ।मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन्।आधार शिविरबाट बाँझोबुकी हुँदै कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगंगा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए।“हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ, तर अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन, त्यसको लागि थप बजेटको आवश्यकता छ”, वडाध्यक्ष पाइजाले भने।टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ।