जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

शुक्लागण्डकीमा शीतभण्डार निर्माण



तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोडको लगानीमा उक्त शीत भण्डार निर्माण गरिएको हो । उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।

नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरेको इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषिउपज स्टोरका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने भएको छ ।

“भवन निर्माण सम्पन्न भइसकेको छ”, उनले भने, “निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ । उत्पादन भएका आलु र सुन्तला स्टोर गर्न नपाएर सस्तोमा बिक्री गर्नुपर्दा कृषक मर्कामा पर्ने गरेका थिए। ”

उचित समयमा उत्पादित बस्तु बिक्रीका लागि कृषकलाई प्रतिकिलोग्राम सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।

त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आवदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ । वडा नं ११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा करिब तीन रोपनी जमिनमा एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  २ : २३ बजे