श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा कार्यविस्तृतिकरणका लागि क्षेत्रगत विज्ञसँग परामर्श



काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले कार्यविस्तृतकरणमा सुझाव दिनका लागि कार्य विस्तृतिकरण क्षेत्रगत विज्ञसँग परामर्श गरेको छ । 

बुधबार र बिहिबार काभ्रेको धुलिखेलमा विज्ञहरूले दिएको सुझाव संघ र महासंघले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको आयोजनमा हुने कार्यक्रममा पेश गर्नेछ ।

 हालको कार्य विस्तृतिकरणले संविधान प्रदत्त अधिकार समेत संरक्षण गर्न नसकेको भन्दै स्थानिय सरकारका जनप्रतिनिधिहरूले संशोधनको माग गर्दै आएका थिए । कार्यशालामा बोल्दै नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले संविधानले व्यवस्था गरेको अधिकार तत् तहले प्रयोग गर्ने गरी कार्य विस्तृतिकरण संशोधन हुनुपर्ने धारणा राखेका छन् । 

उनले अधिकार र स्रोत दुवै स्थानिय सरकारलाई हस्तान्तरण गर्न संघ र प्रदेशले हिच्किटाहट गर्न नहुने बताए । स्थानिय सरकारका प्रतिनिधिले पनि जनमैत्री काममा नै ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला र माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधानले प्रदत्त गरेको अधिकार प्रत्ययोजन गर्नुपर्ने पक्षमा आफुहरू दृड रहेको बताए । कार्यशालाले विभिन्न क्षेत्रमा सुधार गर्नुपर्ने विषय लिखित रूपमै तयार पारेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : १३ बजे