श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बृहत खुल्ला योग शिविर हुने



नारायणगढ । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो ।

रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।‘कोहीपनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरु लवदेव मिश्र प्रशिक्षक रहने समितिका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको बताए । खुला रुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन उनले आग्रह गरे ।पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको महतले जानकारी दिए । शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ५ : ०६ बजे