श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

उत्कृष्ट कार्य गर्ने काभ्रेका चार पालिका सम्मानित



काठमाडौं, १६ भदौ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्याङ्कनमा काभ्रेका १३ पालिकामध्ये पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ ।

समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८–७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्ये डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा आव २०७८–७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए ।

सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरे । जिल्लामा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा जिल्ला समन्वय समितिबाट आव २०७९–८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०–८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८–७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ३७ बजे