श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

चन्द्रनगर गाउँपालिकाद्वारा टिफिन बक्स वितरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरेको छ । गाउँपालिकाले जङ्कफुड निरुत्साहित गर्नका लागि सामुदायिक विद्यालयहरूमा टिफिन बक्स वितरण गरेको हो ।

विद्यालयमा जङ्कफुड निरुत्साहित गरी बालबालिकाहरूलाई घरमा तयार गरिएको खाजा खाने बानीको विकास गर्न टिफिन बक्स वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यो अभियानले विधार्थीहरुको पोषण, स्वास्थ्य र शिक्षण सिकाई सुधारको लागि गाउँपालिकाको आर्थिक सहयोगमा १ टिफिन बक्स वितरण भइरहेको छ ।

गाउँपालिकाका सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका १ हजार ६ सय विद्यार्थीलाई टिफिन बक्स वितरण हुने गाउँपालिकाले जनाएको छ । बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकोले कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई मात्रै टिफिन बक्स वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।

हाल सम्ममा वडा नं २ मा रहेको दुर्गा खोभारी जन्ता माविमा अध्ययनरत करिब ६ सय ७५ विद्यार्थीलाई र वडा नं १ मा रहेको जन्ता माविमा करिब २ सय २५ विद्यार्थीलाई टिफिन बक्स वितरण भैसकेको चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रतिनिधि देनकुमार महतोले जनाएको छ आज मात्रै वडा नं ६ स्थित रहेको मरिचमान माविमा करिब ४ सय १७ जना विधार्थीहरुलाई टिफिन बक्स वितरण भएको छ ।

मरिचमान माविका प्रधानाध्यापक लालबाबु यादवले विधार्थीहरुलाई टिफिन बक्स नहुँदा टिफिन समयमा छात्र तथा छात्राहरू घरमा खाजा खान गएपछि अधिकांश विद्यार्थी पुन विद्यालयमा नआउने गरेको जानकारी दिए । यो टिफिन बक्सले विद्यार्थीहरू अब पुरै घण्टी विद्यालयमा रहने वातावरण बनाउने भएको हुँदा टिफिन बक्स वितरण कार्य सराहनीय भएको उनले बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजकुमार महतोले बिस्कुट डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउ लगायत बाहिरको खानेकुराले विधार्थीहरुको स्वास्थ्य समस्या देखिने गरेको हुँदा घरको ताजा खाना, खाजा ल्याउनलाई टिफिन बक्स वितरण भइरहेको बताए ।

सरकारी स्तर बाट यो मधेश प्रदेशमै टिफिन बक्स वितरण पहिलो पटक भइरहेको अध्यक्ष महतोले दाबी गरे । टिफिन बक्स हाल सममा ३ वटा माविमा वितरण भइसकेको र वडा नं ३ स्थित राम जन्ता आधारभूत विद्यालय बर्कुर्वा तथा वडा नं ५ मा रहेको अरनिको जन्ता आधारभूत विद्यालय मोहनपुरमा वितरण गरिने छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ३ : १८ बजे