श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

महावुधाम मेला भर्नेको घुइँचो मान्म



मान्म । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् ।

पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला भर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । चार हजार दुई सय मिटर अग्लो फाँटमा बुकीझार र त्यहाँको यात्रा गर्दा विभिन्न रोग निको हुने विश्वास रहीआएको छ ।

हरेक वर्ष मेलाको आकर्षण बढ्दै गएको पुजारी नरेन्द्र उपाध्याय बताउछन् । यो कालिकोट र दैलेखको सिमानामा पर्छ । महावुधाम समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ ।

यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीका दिन भव्य मेला लाग्छ । सो स्थानमा शिवलिङ्ग रहेको छ । महावुधाममा कालिकोटका काफ्ले कूलका एक जना तथा दैलेखका आचार्य कूलका एकजनाले पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : २४ बजे