माघ १०, २०८१ बिहिबार Thu Jan 23 2025

नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु



काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने औषधि लिमिटेडको महाप्रवन्धकमा गन्यापधुरा गाउँपालिका ४, डडेलधुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदको लागि खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्ति गर्न गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो ।

त्यसमा महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । सिफारिस समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिसमा पनेरुसहित उमेशप्रसाद गुप्ता र डा. राजकुमार थापाको नाम थियो । यी तीन मध्येबाट पनेरुलाई नियुक्त गरिएका हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार औषधि लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ५१ बजे