जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

देश परिवर्तनका लागि पहिले माओवादी रूपान्तरण गर्नैपर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए ।

उनले भने, “देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछ ।” उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे ।

“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन”, अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।” मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उहाँले विकासको मोडल फेर्नुपर्ने बताए ।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरुरी छ”, उनले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।”

सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए । उनले भने, “कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईँहरूले जनताको बीचमा लैजानुस् ।”

उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रूपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताए । पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै उनले गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए। “अब पार्टी पार्टीका रुपमा, सङ्गठन सङ्गठनका रुपमा चल्छन्”, उनले भने ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ११ : ४६ बजे