श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

काठमाडौं महानगरपालिकाद्वारा मेयरको सचिवालय मर्मत गर्न टेन्डर आवह्रान



काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर बालेन साहको सचिवालय मर्मत संम्भार गर्न ५४ लाख हारारहीको टेन्डर आवह्रान गरेको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले एक सूचना प्रकाशित गर्दै मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर आवह्रान गरेको हो ।

महानगरले ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आवह्रान गरेको छ । आगामी असोज ७ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय तोकिएको छ।

यसअघि उक्त प्लाजामा होटल रेस्टुरेन्ट पसल लगायतका व्यापार व्यवसाय सञ्चालन गरिएको थियो । होटल रेस्टुरेन्ट खाली गराएपनि फोहोर भएकाले रङ रोगन लगायत मर्मत गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।

कार्यकक्षमा यसअघि दोहोरी साँझ चलाइरहेको ठाउँमा मेयर बालेन साहको कार्यकक्ष बनाउने तयारी भइरहेको छ । मेयरको कार्यकक्षमा दुई–दुईवटा एसी, छुट्टै किचन, मिटिङ रुम, विश्राम कक्ष र सेवा प्रवाह कक्ष रहनेछन् । अहिले मेयरको कार्यकक्ष तयार नहुँदा मेयर साह राष्ट्रिय सभागृहबाट काम गरिरेहका छन् ।

त्योसँगै महानगरले दरबारमार्ग र ठमेलको सडक तथा फुटपाथ मर्मतको लागि पनि टेन्डर आवह्रान गरेको छ । सुन्धारास्थित जेडीए कम्पलेक्समा रहेको कार्यालय केही महिनाअघि काठमाडौं प्लाजामा सरेको हो ।

नेपाल ट्रस्टसँग काठमाडौं प्लाजा महानगरले भाडामा लिएको हो । महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षको सम्झौता गरेको थियो । काठमाडौं महानगरको आफनै कार्यालय टेकुमा दुई वर्षभित्र तयार हुँदैछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : २६ बजे