श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न



काठमाडौं । सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा गत असारको अन्तिम शनिबारदेखि सुरु गरिएको समुदाय जागरण अभियानको छैटौँ हप्तामा दुर्गम बस्तीमा कार्यक्रम आयोजना गरिएको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने सो गाउँमा आधारभूत पूर्वाधारको सुविधासमेत पुगेको छैन ।

ओखरेनी गाउँको कृषि भवनबाट सुरु भएको पदयात्रा कार्यक्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका ओखरेनी, चिलाउने, कुने र मूलखर्क गाउँका स्थानीयवासीको सक्रिय सहभागिता थियो । पदयात्रा कार्यक्रम करिब तीन किमी गाउँ परिक्रमा गरी स्थानीय ईश्वरी आधारभूत विद्यालयमा आएर कोणसभामा परिणत भएको थियो ।

‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘सूचना कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्द, उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारी, जिल्ला समिति काठमाडौँका अध्यक्ष पूर्णप्रसाद मिश्र, वडा सदस्य अञ्जली तामाङ, साविकको सुन्दरीजल गाविसका पूर्वउपाध्यक्ष पूर्णबहादुर तामाङ, कार्यक्रम संयोजक अस्मिता खत्री, सामाजिक अभियानकर्मी घनश्याम गौतमलगायतले राजधानीभित्रकै नगरपालिका क्षेत्रको सडक कालोपत्र नहुने, निकुञ्जका कारण विकास निर्माणमा समस्या पर्ने लगायत समस्या समाधानका लागि नागरिकले सूचनाको हक प्रयोग गरी राज्यका निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सक्नेमा जोड दिएका थिए ।

प्रत्येक स्थानीय तहमा लागू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम निकुञ्जभित्रका गाउँमा भने नगरिएको र यस क्षेत्रका बेरोजगार युवालाई सहभागिता नगराइएकामा सुन्दरीजल गाविसका पूर्वउपाध्यक्ष तामाङले गुनासो गरे। नगरापलिका र वडा कार्यालयले शहरी क्षेत्रमा मात्र कार्यक्रम दिएर निकुञ्जभित्रको दुर्गम गाउँलाई अन्याय गरेको स्थानीयवासीको आरोप छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : १८ बजे