श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा



गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा परेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ ।

‘विसं २०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनको भनाइ छ ।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भने, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’ पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेको उको भनाइ छ ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १२ : ०१ बजे