बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो, संक्रमित संख्या ८५ हजार बढी



काठमाडौं । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको संक्रमण देखिएको र जनवरीयता डेङ्गुका संक्रमितको संख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगष्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको संक्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् । एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिका बाहेक सबै महादेशहरूमा फैलिएको पाइन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ०१ बजे