श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रहरी चौकी बनाउन जग्गा दान



काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् ।

घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० आना एक दाम एक पैसा र शिवले एक रोपनी सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा उपलब्ध गराउनुभएको जानकारी दिए ।

“चलनचल्तीको भाउअनुसार गणेशले रु २१ लख ४५ हजार र शिवले रु १२ लाख पाँच हजार मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो”, उनले भने , “जग्गा प्राप्त भएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरेका छौँ ।”

स्थानीय जनप्रतिनिधि, अगुवा र सुरक्षा अधिकारीको पहलमा जग्गा व्यवस्थापन भएको हो । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् ।

जिल्ला प्रहरी कार्यालय ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ०८ बजे