श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अहिले देश नै गोल्डेन टचको अवस्थामा छ : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय भन्सारबाट होइन, अन्तैबाट कारोबार भइरहेकाले राजस्व नउठेको बताएका छन् । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले सुन प्रकरणले त्यसलाई पुष्टि गरेको बताए ।

भन्सारबाट अहिले जे ल्याउँदा पनि सुन नै आउने गरेको दाबी गर्दै सरकार किन उच्चस्तरी छानबिन समिति गठनमा सहमत हुन सकेको छैन भन्ने आफूले नबुझेको उनले बताए । ‘अहिले देश नै गोल्डेन टचको अवस्थामा छ । जे छोए पनि सुन हुने । ब्रेक शु ल्याए पनि सुन । सिगरेट ल्याए पनि सुन । अहिले देशलाई नै बर्बाद पार्ने ढंगले सरकार अघि बढेको छ,’ ओलीले भने ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करसँग लगातार दुई सयभन्दा बढीपटक फोन गर्दा पनि छानबिन नभएको भन्दै उनले आपत्ति जनाए । ओलीले यसरी पनि शासन प्रशासन चल्छ भन्दै प्रश्नसमेत गरे । कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति उनले आपत्ति जनाए ।

उनले शर्मालाई पक्राउ घटनाले आफूविरोधीलाई तर्साउने हल्ला फैलाइएको छ । उनले शर्माले शैक्षिक कागजातको छानबिन नगर्न आफूले नभनेको भन्दै सुन तस्करी भएको विषयलाई उठाउँदा एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाएर सांसदलाई पक्राउ गर्नु कहाँसम्मको न्याय हो ? भनी प्रश्न गरे । सांसदलाई समेत पक्राउ गरिन्छ भनेर तर्साउन खोजिएको उनले बताए ।

गृहमन्त्री विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि समाउन नसकेर स्टन्टमा लागेको ओलीले बताए । सोही कारण उनले कुनै पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न भनेको बताए । सुन तस्करीसम्बन्धी प्रतिवेदन गायब गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : ५३ बजे